Tuesday, 29 November 2016

श्रीमतीको हत्या आरोपमा श्रीमानसहित तीन पक्राउ

पाल्पा – तानसेनस्थित जनता बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत बिनु पुलामीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आज यहाँ विद्यार्थीले दिनभर विरोध प्रदर्शन गरेका छन् ।

जिल्लामा क्रियाशील विभिन्न विद्यार्थी सङ्गठनले हत्यामा संलग्नमाथि कारबाही नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । ताहुँ–७ का दीपेन्द्र बस्यालसँग पुलामीको चार वर्षअघि अन्तर्जातीय विवाह भएको थियो । गत कात्तिक ४ गते हुँगी–२ अस्दीमा पुलामीको शव फेला परेको थियो । बिनुको हत्या गरिएको जनाई बुबा नरेन्द्रले प्रहरीमा जाहेरी दिएका थिए ।
यसैबीच जिल्ला प्रहरी कार्यालयले नरेन्द्रको जाहेरीका आधारमा श्रीमान् दीपेन्द्र, दीपेन्द्रका बुबा र आमालाई नियन्त्रणमा लिएको छ । दीपेन्द्रलाई आइतबार काठमाडौँको सिनामङ्गल, बुबा लक्ष्मणलाई सिद्धबाबा र आमा पार्वतीलाई तानसेन–८ भगवतीटोलस्थित घरबाटै नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक हरिराज वाग्लेले जानकारी दिए । जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । रातोपाटीबाट